प्रेस विज्ञप्ती- प्रदेश नं ५ लगानी सम्मेलन

January 31, 2020

नेपाल बैंकर्स संघको आज बसेको बैठकमा प्रदेश नं ५ का माननीय मुख्यमन्त्री शंकर पोखरेलज्यू तथा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर श्री चिन्तामणि शिवाकोटीज्यूको समुपस्थितिमा प्रदेशले आयोजना गर्न लागेको “लगानी सम्मेलन” तथा विविध आर्थिक गतिविधिहरुका बारेमा छलफल गरियो ।


उक्त अवसरमा प्रदेशका माननीय मुख्यमन्त्री शंकर पोखरेलज्यूले प्रदेश सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनका बारेमा अवगत गराउनुका साथै प्रदेश नं ५ मा भएका विविध लगानीका अवसरहरु तथा परियोजनाहरुका बारेमा समेत जानकारी गराउनु भयो । प्रदेश नं ५ आर्थिक, औद्योगिक, पर्यटकिय, कृषि, आदिमा प्रचुर सम्भावना बोकेको प्रदेश हुनाले यस प्रदेश मुलुकको आर्थिक हब समेत बन्न सक्ने सम्भावना भएको धारणा व्यक्त गर्नु भयो ।


नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर श्री चिन्तामणि शिवाकोटीज्यूले प्रादेशिक स्तरमा बैंकिङ्ग सेवा विस्तार गर्नको निमित्त नेपाल राष्ट्र बैंकले लिएका विविध नीति निर्देशनहरुको बारेमा जानकारी दिनुका साथै यस प्रकारको सम्मेलनले वित्तीय साक्षरता तथा बैकिङ्ग पहुँच बढाउन थप मद्दत मिल्ने धारणा व्यक्त गर्नु भयो ।


नेपाल बैंकर्स संघका अध्यक्ष श्री भुवन दहालले प्रदेश सरकारले आयोजना गर्न लागेको सम्मेलनको स्वागत गर्दै बैंकहरुले सो सम्मेलन भव्य सफलताका साथ आयोजना गर्न पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै, नेपाल बैंकर्स संघमा आई सम्मेलनका बारेमा जानकारी दिनुभएकोमा माननीय मुख्य मन्त्रीज्यूलाई हार्दिक कृतज्ञता ज्ञापन गर्नु भयो ।


प्रादेशिक हिसाबमा लगानी बढाउन तथा वित्तीय पहुँच विस्तार गर्नका निमित्त संघका पदाधिकारीहरुले विभिन्न राय/सुझाबहरु पेश गर्नुका साथै प्रदेश सरकारको आर्थिक मन्त्रालय, नेपाल राष्ट्र बैंक तथा नेपाल बैंकर्स संघका प्रतिनिधिहरु सहितको एक कार्यदल गठन गरि अगाडि बढ्न उपयुक्त हुने धारणा समेत पेश गर्नुभयो ।


उक्त बैठकमा प्रदेश सरकार तथा नेपाल राष्ट्र बैंकका पदाधिकारीज्यूहरु, वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतज्यूहरु लगायतको उपस्थिती थियो ।

Top